Menu

Today Date

भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

Author
News Feed |
September 15, 2023
Featured

सर्लाही, २९ भदौ : सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।

निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा आलोककुमार कुशवाहको भनाइ छ । उहाँका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ ।

लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ ।

जिल्लाभर डेङ्गु सङ्क्रमित पनि बढिरहेका छन् भने भाइरल फिभरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर डेङ्गुका ६१ जना सङ्क्रमित रहेका छन् ।

डेङ्गु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्न नपाउने गरी सरसफाइ गर्न, सङ्क्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नराखी टाढै बसेर आराम गर्न, पोषिलो खानेकुरा प्रशस्त खान, चर्को घाम लागेको बेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
---

FEELING WHAT ?

Article $type=triple-post$count=9

समाचार $type=triple-post$count=3

Contact Form

Name

Email *

Message *