हामी आजको दिनमा डिजिटल पेमेन्ट कहाँ पुग्यो भन्छौँ । जताततै क्यूआरबाट पैसा तिर्न मिल्छ, नगद नबोके पनि हुन्छ भनिरहेका छौँ र भइ पनि रहेको छ । तर कुनै पनि कुरा डिजिटल हुनलाई मात्रै गरेर दिगो हुँदैन । यसलाई सहज त बनायौँ, तर साँच्चिकै के आयो, मैले के फाइदा पाएँ ? नगदको ठाउँमा डिजिटल भुक्तानी गर्दा अतिरिक्त लाभ के मिल्यो ? त्यो त केही पनि छैन । अहिले हामीले सबैलाई सहजता मात्रै बिक्री गरिरहेका छौँ । मलाई नगद झिक्न एटीएमसम्म पुग्नुपर्ने हुन्थ्यो, तर डिजिटल भुक्तानी हुँदा सोझै पैसा तिर्न पाइरहेको छु भन्ने त भयो । पसलेलाई पनि नगद व्यवस्थापन गर्न झन्झट थियो, सोझै खातामा आइरहेको छ भन्ने छ । तर भुक्तानी डिजिटल बनाउँदाको फाइदा ‘पासआउट’ त गर्नुपर्ने हुन्छ । अब त्यो कसरी गर्ने भन्ने कुरा आउँछ । यसको सोझो अर्थ ‘एक्सेस टु डिजिटल फाइनान्स’ अर्थात डिजिटल वित्तमा पहुँचकै कुरा हो । अहिले सबैजनाले मोबाइल बैंकिङ चलाइरहेका छन् । तलब खातामा जम्मा हुन्छ । खाताबाटै पैसा तिर्ने काम पनि भइरहेको छ । तर मलाई अहिले एउटा ल्यापटप वा बाइक किन्नु पर्यो भने ? बाइक त अलि ठूलै लगानीको कुरा होला । ल्यापटप मात्रै किन...