नारायणी अस्पतालमा थप ५ कोरोना संक्रमितको मृत्यु
बीरगन्ज,१० जेठ । कोरोना संक्रमणबाट बीरगन्जमा थप ५ जनाको मृत्यु भएको छ । बीरगन्जकाे नारायणी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका २/२जना र सर्लाहीका १ जना छन् ।
बीरगन्ज -३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।
नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि २ दिनपछि अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा सोमबार बिहान पौने १ बजे उनको मृत्यु भयो ।
बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिपल्ट उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको छ ।
बारा जिल्ला घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बैशाख २७ गते गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको कोभिड संयोजक दासले बताए ।
सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा सोमबार बिहान पौने ७ बजे मृत्यु भएको नारायणी अस्पतालले बताए ।

Comments
Post a Comment