बजेट समग्रमा राम्रो र सकारात्मक भएको उद्योगीहरुको प्रतिक्रिया

वीरगंज, १६ जेठ । 
अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गरेका बजेटको सम्बन्धमा वीरगंजका निजी क्षेत्रका सङघ सङ्गठनका पदाधिकारीहरूले बजेट समग्रमा राम्रो र सकारात्मक भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङघ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठले बजेटले बिशेषगरी कोरोना संक्रमण महामारीमा केन्द्रित हुनु सुखद पक्ष भएको बताउँदै यसलाई सफल रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं निम्बस समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवालले निजी क्षेत्रप्रति उदार मानिनुभएका अर्थमन्त्रीले ल्याएको बजेटले आशावादी हुने आधारहरू खडा गरेको बताउँदै कोरोना महामारीबाट प्रभावित उद्योगका लागि राहत दिने घोषणाले उद्योगी व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो ।
उहाँले मेड इन नेपाल र मेक इन नेपालका लागि के कस्तो नीतिगत र प्रक्रियागत सुधार गरिने हो त्यसको प्रतिबद्धता पनि बजेटमा समेटिएको भए सुनमा सुगन्ध थपिने बताउनुभयो ।
त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङघका केन्द्रिय सदस्य एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुनु सकारात्मक रहेको बताउँदै पुनर्कर्जालाई बढाएर १३ अर्ब रुपियाँँ बनाउनु, उत्पादनमूलक उद्योग र होटेलहरूको डिमान्ड शुल्क मिनाहाको घोषणा गर्नु, हुलाकी मार्ग निर्माणमा प्रशस्त बजेट विनियोजन हुनु,  शैक्षिक प्रमाण पत्रका आधार ऋण, प्रधानमन्त्री रोजगार योजना, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बाराको गढीमाईको विकास गुरूयोजना, सातै प्रदेशमा कृषि बजार बनाइने विषय सकारात्मक रहेको बताउनुभयो ।
उहाँले मुलुकको प्रमुख आर्थिक केन्द्र एवं राजश्व असुलीमा ४० प्रतिशत योगदान दिने वीरगंजको विकासमा बजेट भने सकार मौन रहेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।
वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले साढे १६ खर्बको बजेटको आम्दानी १० खर्ब रुपियाँँ जति होला । बाँकी ऋणको भरमा छ । ऋण आएन भने विकास निर्माणमा काम प्रभावित हुने हुँदा यसतर्पm राज्यको ध्यान बेलैमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो ।
नारायणी सिमेन्टका महाप्रबन्धक एवं आर्थिक विश्लेषक उमेशचन्द्र ठाकुरले सरकारले अध्यादेशमार्पmत ल्याएको बजेट अपेक्षा गरिएभन्दा बढी लोकप्रिय तथा बजेटले सबै क्षेत्रलाई समेटेको बताउनुहुँदै कोरोना महामारी नियन्त्रणमा बजेट केन्द्रित हुनु सबल पक्ष भएको बताउनुभयो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प