वडाध्यक्षको हत्या

सर्लाही,१२ असार ।सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको थियो । नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।

नगरपालिका प्रमुख मनोज कुमार देवकोटाका अनुसार पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एक्स्काभेटर चालक तामाङले खाजा खाएका थिए । खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य भनाभन भएको थियो । खाजा खाएर उनीहरु पोखरी हेर्न गए । पोखरी हेरेर फर्किने क्रममा चालक तामाङले श्रेष्ठको टाउको र छातीमा बकेटले हिर्काएको नगरप्रमुख देवकोटाले बताए ।

हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। प्रहरीले पोखरी सौन्दर्यीकरण कार्यका इश्वरपुर-३ कै दाहाल र जेसिबी चालक तामाङलाई पक्राउ गरेको छ।

वडाध्यक्ष श्रेष्ठको शवको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प