रौतहटमा होटल खुले तर विद्यालय सञ्चालनमा रोक
रौतहट,१४ असार । रौतहटमा थप एक साता निषेधाज्ञा थपिएको छ । यससँगै रौतहटमा छैटौं पटक निषेधाज्ञा जारी गरिएको छ ।
रौतहटमा अझै कोरोना संक्रमणको जोखिम यथावत नै रहेको जनाउँदै असार २० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्लामा रहेका १८ स्थानीय तहमध्ये ४ वटामा न्यून संख्यामा संक्रमित रहेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले आइतवार जारी गरेको प्रतिवेदनको विवरण अनुसार जिल्लाको चन्द्रपुर नगरपालिकामा ८ जना, देवाही गोनाही नगरपालिकामा ३ जना, गुजरा नगरपालिकामा २० जना र माधव नारायण नगरपालिकामा १ जना गरी जम्मा ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
सोही तथ्याङ्कलाई मध्यनजर गर्दै जिल्ला कोभिड १९ व्यवस्थापन समितिको आइतवार बसेको बैठकले संक्रमण दर घट्दै गएको भएतापनि जोखिम भने यथावत रहेकाले निषेधाज्ञा थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादवले बताएका छन् ।
थप गरिएको निषेधाज्ञा अवधिमा स्वास्थ्य मापदण्डको पालना गरी राति ८ बजेसम्म होटल तथा रेस्टुरेन्टहरू सञ्चालन गर्न पाइने भएको छ । यातायात भने जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ । भीडभाड हुने क्षेत्रहरू सभा सम्मेलन, गोष्ठी, सिनेमा हल, मनोरञ्जन स्थल, खेलकुद लगायत शैक्षिक संस्था भने सञ्चालनमा रोक लगाइएको छ ।
Comments
Post a Comment