प्रदेश नंं २ मा मुख्यमन्त्री राउतद्वारा प्रदेश हरित अभियानको शुभारम्भ

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान २०७८ आज शुभारम्भ गर्नु भएको छ । 

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गर्नु भएको छ । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपण अभियानको शुरुवात भएको छ ।  

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कूल १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कँडेलले जानकारी दिनु भएको छ ।  

वृक्षारोपण अभियानको शुभारम्भका कार्यक्रम जिल्ला जिल्लामा गर्नका लागि आठ वटै जिल्लामा प्रदेश २ सरकारका मन्त्री एवं राज्यमन्त्रीहरू पुग्नु भएको छ । खास गरेर वन तथा चुरेको विनाशका कारणले अनेक प्राकृतिक विपत्तिहरू आइरहेको बेलामा अभियानले वातावरण सन्तुलन राख्नमा मद्दत पुग्ने विश्वास गरिइएको छ ।

 
यति मात्र नभएर भूमिगत पानीको लेभल पनि निक्कै तल गएकाले खानेपानीको अभाव हुन थालेको वेलामा अभियान निक्कै सराहनीय रहेको छ । 

अभियानको शुभारम्भ सप्तरीमा सामाजिक विकास मन्त्री नबल किशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव, महोत्तरीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय , महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थ राज्यमन्त्री उषाकुमारी यादव, पर्सामा ऊर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गर्नु भएको छ । 

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नपाका मेयर हरिनारायण महतो, वन सचिव डा. कँडेल, डिभिजन वन कार्यालय धनुषाका प्रमुख सहितका वन अधिकारीहरू उपस्थित रहनु भएको थियो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प