सरकारले असार १५ भित्र रेल सञ्चालन गर्ने तयारी
जनकपुरधाम,३१ जेठ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले असार १५ भित्र रेल सञ्चालन गर्ने तयारी पूरा गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा रेलवे कम्पनीलाई असार १५ भित्र रेल सञ्चालन हुने गरी कार्यतालिका बनाउन उनले निर्देशन दिएका हुन् ।
मन्त्री नेम्वाङले रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई नीतिगत र व्यावहारिक सबै काम सकिएकोले अब रेल सञ्चालनको बाँकी काम सक्ने कार्यतालिका बनाउन निर्देशन दिए ।
'असार १५ सम्म निषेधाज्ञा खुले पनि नखुले पनि रेल सञ्चालन गर्नुपर्छ', मन्त्री नेम्वाङले भने, 'निषेधाज्ञा नखुले पनि भर्चुअल रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नसक्ने गरी तयारी गर्नुहोस्।'
उनले वर्तमान सरकारले मरेको रेलवे कम्पनीलाई ब्युँताएको र भारतसँग सम्झौता गरेर ट्रयाक बेड निर्माण तथा लिक बनाइसकिएको बताए।
रेल सञ्चालनको लागि आवश्यक सबै काम पूरा हुँदा पनि कोभिड महामारीको दोस्रो लहरले सञ्चालन गर्न नसकेको उनको भनाइ छ।
'रेल सञ्चालनका लागि आवश्यक सबै काम सरकारले गरिसकेको छ। रेल अध्यादेश जारी गरे पनि सञ्चालन गर्नसकेका छैनौँ', उनले भने, 'महामारी कम हुँदै गएको छ। रेल सञ्चालन गर्नुपर्छ।'
निषेधाज्ञाअघि भारतबाट प्राविधिक ल्याएर रेलवे कर्मचारीलाई तालिम दिइएको थियो। यद्यपि अहिले तालिम रोकिए पनि निषेधाज्ञा खुल्दाको अर्को दिनबाट फेरि तालिम सञ्चालन हुने गरी वातावरण बनाउन नेम्वाङले बताए।
उनले रेलवे कम्पनी तथा रेलवे विभागलाई रेल स्टेसनमा जानको लागि पहुँचमार्ग तयार पार्न भनेका छन्।पहुँचमार्ग निर्माणको लागि बजेटको कुनै समस्या नभएकोले तत्काल काम अघि बढाउन भनेका छन्।
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गतको बर्दिवासको रेल मुआब्जा स्टेसन छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ । भारतीयले छिटो मुआब्जाको विषय नटुंग्याए आफूहरु पछि हट्ने बताएको नेम्वाङले बताए ।

Comments
Post a Comment