अनाधिकृत रुपमा राखिएका सामाग्री हटाउदै महानगर

वीरगन्ज १० साउन । वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा जथाभावी सडक पेटीमा राखिएका सामग्रीहरु हटाउने अभियानलाई तीब्रता दिएको छ । बाईपास क्षेत्रमा सडक नै अतिक्रमण गरेर जथाभावी अनाधिकृत रुपमा निर्माण सामाग्री, कवाडी सामानहरु महानगरपालिकाले हटाउन थालेको हो । शनिबार महानगरपालिकाले दोश्रो बाईपासक्षेत्रमा पर्ने नगवा चोकदेखि भन्सारसम्म जाने सडक किनारमा राखिएको अनाधिकृत निर्माण सामग्रीहरु गिटी, बालुवा, ढुंगा लगायत हटाएको छ । आईतबार पनि यसलाई निरन्तरता दिदै नयाँ बसपार्कदेखि उत्तरतर्फ सडक किनारमा राखिएका ईटा, गिटी, बालुवा, ढुंगा, टायर लगायत कवाडी सामानहरु हटाएको छ । महानगरपालिकाले सडक पेटीहरुमा अनाधिकृत रुपमा राखिएका सामानहरु हटाउन पटक पटक सूचना जारी गरेपनि स्थानीयले अटेर गरेर नहटाएपछि महानगरपालिकाको सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी र सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गतको फोहोर व्यावस्थापन गर्ने ठेकेदारको संयुक्त पहलमा सडक पेटीमा राखिएका सामानहरु हटाउने अभियान थालेको महानगरपालिकाका सरसफाई शाखाका इन्चार्ज सर्फुद्दिन मियाँले बताउनुभयो । व्यापार व्यवसायको प्रयोजनका लागि जथाभावी निर्माण सामग्रीहरु राखिदिने र सडक पेटीकै किनारमा सामानहरु भण्डारण गर्ने गर्दा सडकमा दुर्घटनाको जोखिम पनि हुने र सहरको सौन्दर्यतालाई पनि असर पार्ने भएकोले महानगरपालिकाले सामानहरु हटाउन थालिएको नगर प्रहरी इन्चार्ज हरि भुषालले बताउनुभयो । व्यापार व्यावसाय गर्नेहरुले पैसा मात्रै कमाउने तर महानगरको सरसफाईमा भने कुनै चिन्ता नगर्ने तर, सरसफाई भएन भने नगरपालिकालाई दोष दिने खालको प्रवृत्तिले वीरगन्जलाई बदनाम गरेको हुँदा यस्तो बदनामी हुनबाट बच्नका लागि अब सरसफाईलाई कडाईका साथ कार्यान्वयन गरिने इन्चाज भुषाले बताउनुभयो । सडक पेटीमा जथाभावी सामान राखेमा वीरगन्ज महानगरपालिकाको सरसफाई ऐन २०७५ अनुसार कारवाही पनि गरिने बताउनुभयो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प