थामियाँे पानी, थपियो कहर

गोपालप्रसाद बराल
महोत्तरी, १० साउन 
गत मध्य असारसँगै शुरू भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल हुनुहुन्छ ।
"घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो", कापर बिरक्तिँदै भन्नुहुन्छ, "बर्खाकालमै छौँ, झुप्रो ठड्याएर बालबच्चा ओत्याउने र भोक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ ।" साउन दोस्रो साता प्रारम्भसँगै पानी पूरै थामिएर टन्टलापुर घाम लाग्न थालेपछि कापरले भन्नुभयो, "पानी त थामिएजस्तो छ, तर हामी गरिबको कहर (कष्ट) थामिएन, यो त थपिँदै पो गयो ।"
मध्य असारपछिको साताभरि र साउन पहिलो साताको तीन दिनसम्म लगातार परेको मुसलधारे वर्षा महोत्तरीमा गत बुधवारयता थामिदै गएको छ तर त्यो मुसलधारे वर्षाको कहर भने कायमै हुँदा यहाँका कापरजस्ता बाढी, डुबानपीडित अझै सामान्य हुनसकेका छैनन् । जसका घर ढले, ठडिन सकेका छैनन् । अन्नपात सडेर, बगेर गयो । मध्य बर्खामा बास र गाँस खोसिँदा हिउँद लागुञ्जेलसम्म कसरी बाँच्ने भन्ने पिरोलो बढेको सो बस्तीकै मुशहरी टोलकी सुशीला सादा बताउनुहुन्छ । "हिउँद नलागी झुप्रो के ठड्याउन सकिएला र ?" सुशीलाकै  भनाइमा लय मिलाउँदै उहाँकै छिमेकी हेमकुमारी सादा भन्नुहुन्छ ।
गत असार १५ गते रातिदेखि असार २२ गतेसम्म मुसलधारे वर्षा भएको थियो । असार अन्तिम साता पनि छिनछिनमा पानी परिरहेको महोत्तरीवासी सम्झनछन् । साउन लागिकन पनि गत मङ्गलवारसम्म चोटीलो वर्षा भएको थियो । पछिल्लो वर्षाको पानी र बाढीको ताण्डवले जिल्लाका ५०० भन्दा बढी घर डुबानमा परेका थिए । त्यसमध्ये २० घर लडेका जिल्ला दैवी प्रकोप उद्धार समितिले नै स्वीकार गरेको छ तर घर ढलेका पीडितसम्म राज्यका कुनै निकायको उपस्थिति नहुँदा यो संख्याभन्दा निकै बढी घर क्षति भएका बर्दिबास–१३ का बासिन्दा नेकपा (एमाले) बर्दिबास नगर कमिटीका अध्यक्ष उमेशसिंह दर्लामी बताउनुहुन्छ ।
मुसलधारे वर्षासँगैको बाढीले महोत्तरीमा २०० बिघाभन्दा बढी जग्गा कटान गरेको छ । बर्दिवास नगरपालिका–६, ७, ८, ९, १०, ११  र  भङ्गाहा नगरपालिका–१, २, ४ र ६ मा रातु नदीको बाढीले १५० बिघाको बाली र जग्गा कटान गरेको छ । त्यसैगरी जङघा, मरहा र बाँकेसहितका नदीले  गौशाला नगरपालिका–८, १० र ११ मा ५० बिघाभन्दा बढी जग्गा कटान गरेको त्यहाँका बासिन्दाले बताएका छन् । "खेतमा लगाइएको बाली बाढीले लग्यो, घरमा बाँकी अन्नपात छैन", भङ्गाहा–५ सीतापुर धतियाटोलका शोभित खत्वे भन्नुहुन्छ, "गुजारा कसरी चलाउने होला, पापी पेट बाढी, पानी केही बुझ्दैन ।"
जिल्लाका नदीले सिरानमा कटान र मध्य तथा दक्षिणी क्षेत्रमा डुबान गर्दै आएका छन् । यसपालि बर्दिबासका कृष्णपुर, मनहरिपुर, हाथीलेट, पशुपतिनगर, खयरमारामा जग्गा कटान भएका छन् । त्यसैगरी  भङ्गाहा नगरपालिकाका रामनगर, पलार, सिङ्ग्याही, कविलाशा, जमुनिंया र हतिसर्वासहितका बस्ती र गौशाला नगरपालिकाका बेलगाछी, भाण्टावारी, पडरिया, लक्ष्मीनियाँ र भरतपुरसहितका ठाउँमा  कटान बढाएको हो । रातु नदीको बाढीले बलवा नगरपालिका–११ भगवतीपुरमा पनि २० बिघा जग्गा कटान गरेको सो बस्तीकै मुशहरीटोलका उत्तिम माझी मुशहर बताउनुहुन्छ । "बर्दिबास, भङ्गाहा र हाम्रो नगरपालिका (बलवा)को सिरानसम्म कटान हुने गरेको छ", वर्षाैँवर्ष बाढी र डुबानको कहर खेप्दै आएका ६५ वर्षीय मुशहर भन्नुहुन्छ, "यहाँभन्दा दक्षिणचाहिँ नदीको सतह भरिँदै गएको हुँदा डुबान समस्या हुने गरेको छ ।"
डुबानले सबैभन्दा बढी जिल्लाको सुदूर दक्षिणको जलेश्वर नगरपालिका क्षेत्र प्रभावित हुने गरेको छ । यसपालि मध्य असारअघि पानी नभएर र त्यसयता डुबानले गर्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा पानी मत्थर भएपछि रोपाइँ बढे पनि मध्य र दक्षिणवर्ती भेगमा डुबानले राम्रो रोपाइँ हुन नसकेको जलेश्वर नगरपालिकाको पिगौना बस्तीका महेन्द्र साहको भनाइ छ । रोपिएको धानको रोपो पनि वर्षासँगैको बाढीको पानी रोपोमा पसेर गह्रा टन्न भरिँदा गल्न लागेको किसानले बताएका छन् । अब रोपाइँका लागि बीउ पनि नहुँदा धेरैजसो खेत हिउँदसम्म बाँझै बस्ने साहको चिन्ता छ । पानी थामिएसँगै एकपछि अर्काे कहर थपिँदै जाँदा बाढी र डुबान पीडित रनभुल्ल परेका हुन् ।
जिल्लामा यसपटक अहिलेसम्म वर्षाले गत वर्षको झैँ नोक्सान नपु¥याए पनि बर्खाकाल अझै निकै बाँकी रहेको हुँदा सर्वसाधारण सम्भावित बाढीको कटान र डुबान चिन्ताले पिरोलिएका छन् । जिल्लामा विसं २०७६ को बाढीले नौ जनाको मृत्यु भएको थियो भने ४० हजार जनसंख्या डुबानबाट प्रभावित भएका थिए । त्यसैगरी गत वर्ष २० वटा बस्तीमा बाढीको पानी पसेर नोक्सान गरेको थियो । सर्वसाधारणमा बाढीको पूर्वसूचना प्रणालीवारे जानकारी बढ्दै गएको र यसवारे चासो राख्न थालेका हुँदा गत वर्ष र यसपालि मानवीय क्षति भने हुन छाडेको बलवाकै धमौरा बस्तीका हासिम कवारी बताउनुहुन्छ । "खोलामा बाढी बढेको खबर आउने गरेको छ, त्यसैले सचेत हुन पाइन्छ", कवारीले भन्नुभयो ।
जिल्लामा पूर्वपश्चिम राजमार्गको रातु पुल नजिक र सरपल्लोमा बाढी सूचनायन्त्र जडान गरिएका छन् । बाढी बढ्नासाथ सञ्चार सञ्जालहरूबाट यसवारे सबैतिर जानकारी पुग्दा पूर्वसजगताले मानवीय क्षति रोकिएको बर्दिबास–६ कृष्णपुरका बासिन्दा सामाजिक कार्यकर्ता निल लुम्रे बताउनुहुन्छ ।
जिल्लामा बर्सेनि बाढीले गर्ने नोक्सानी धेरैजसो मानव सिर्जित समस्या भएको चुरेविज्ञ जिल्लाकै भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंह बताउनुहुन्छ । वनजङ्गलको बढ्दो विनाश, चुरे पहाडी शृंखलामा बढ्दो उत्खनन  र यहाँका नदी र नदीउकास जग्गामा नदीजन्य पदार्थ (बालु–ढुङ्गा) को अनियन्त्रित दोहनले सिरानतर्पm नदीको सतह गहिरिँदै गएको र क्रमशः तलतिर सतह उकासिँदै गएकाले उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबान बढेको डा सिंहको भनाइ छ । यसबाहेक अतिवृष्टि, अनिकालजस्ता समस्या पनि यसै कारणले बढेको उहाँ बताउनुहुन्छ ।
बाढीबाट हुने नोक्सानी रोक्न प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन रोक्न तीनै तहका सरकारले प्रभावकारी संयन्त्र बनाउने र नदीहरूमा तटबन्ध निर्माणको कामलाई गति दिए खास उपलब्धि हात लाग्ने विज्ञ बताउँछन् ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प