पर्सामा १५ प्रतिशतले मात्रै पाए पूर्ण खोप
वीरगंज, ११ साउन ।
पर्सामा कुल जनसंख्याको १५ प्रतिशतले कोरोना विरूद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्ष मुनिको उमेर समूह बाहेकको कुल जनसंख्या मध्ये १५ प्रतिशतले कोरोना विरूद्धको खोपको पहिलो र दोस्रो मात्रा गरि पूर्ण खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय पर्साको तथ्यांकले हालसम्म पटकपटक गरि पर्सामा कोभिसिल्डको ४७ हजार ४ सय मात्रा प्राप्त भएको जनाएको छ । कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरूलाई खोप वितरणमा प्राथमिकता दिन सरकारी निर्देशन थियो । जस अनुसार ४७ हजार १ सय ३० जनाले कोरोना विरूद्धको खोप कोभसिल्डको पहिलो मात्रा लगाएका थिए । वीरगंज महानगरपालिकामा खोप लगाउँन जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागीता देखिएपनि जिल्लाको ग्रामीण भेगमा भने खोप लगाउँन जेष्ठ नागरिकहरूको सहभागीता निकै न्युन देखिएको थियो ।
पर्सा लगायत देशैभरि कोभिसिल्ड खोप लगाउँनेहरूको संख्या उच्च थियो । खोपको पहिलो मात्रा लगाएकाहरू दोस्रो खोपको प्रतिक्षामा थिए । तर, भारतको सिरम ईन्स्टिच्युटले कोभिसिल्डको थप खोप निर्यात गर्न नसकिने बताएपछि दोस्रो मात्राको कोभिसिल्ड लगाउँनेहरूको संख्या ह्वात्तै घटेको हो । पर्सामा हालसम्म ९ हजार ५ सय १४ जनाले मात्र कोभिसिल्डको पूर्ण खोप लगाउँन पाएका छन् । कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरू मध्ये पर्सामा ३७ हजारभन्दा बढी कोभिसिल्डको दोस्रो मात्राको प्रतिक्षामा छन् । स्वास्थ्य मन्त्रालयले केही दिनमै कोभिसिल्ड खोपको व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
यसैबिच पर्सामा दुर्ईपटक गरि भेरोसेल खोपको १७ हजारभन्दा बढी मात्रा प्राप्त भएको स्वास्थ्य कार्यालय पर्साले जानकारी गराएको छ । पहिलो चरणमा १० हजार ८ सय ३० र दोस्रो चरणमा ६ हजार ३ सय ८० गरि १७ हजार २ सय १० मात्रा खोपको प्राप्त भएको जानकारी गराइएको हो । पहिलो चरणमा ८ हजार ६ सय ३४ जनाले भेरोसेलको पहिलो मात्राको खोप लगाएका थिए । जसमध्ये ७ हजार ३ सय २६ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय पर्साको तथ्यांक छ ।
यस अर्थमा पर्सामा भेरोसेलको खोप लगाउँनेहरूमध्ये ८५ प्रतिशतले पूर्ण खोप लिएका छन् । हाल स्वास्थ्य कार्यालय पर्सासँग भेरोसेलको करिब १२ सय खोप मौज्दात छ । मन्त्रालयबाट प्राप्त हुने कुल खोपलाई लक्षित जनसंख्या अनुसार विभाजन गरि पालिकाहरूमा पठाईने गरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नवलकिशोर साहले बताए । उनका अनुसार खोप वितरणका लागि स्वास्थ्य कार्यालयसँग पर्याप्त जनशक्ति छ । खोप व्यवस्थापनका लागि आफुहरू अहोरात्र खटिएको उनको प्रतिक्रिया छ ।
यता, पर्सामा सोमवारबाट कोरोना विरूद्धको अमेरिकी खोप जैनसेनको लगाईदैछ । अशक्त र ५० देखि ५४ वर्ष उमेर समूहका लागि ३० हजार ६ सय ६८ मात्रा खोप प्राप्त भएको निमित्त प्रमुख साहले बताए । साहका अनुसार मन्त्रालयले तय गरेको जनसंख्या अनुसार विभाजन गरि पालिकाहरूको खोप केन्द्रमा खोप पठाईसकिएको छ ।
Comments
Post a Comment