प्रदेश २ का रेडियोलाई सौर्य ऊर्जा प्रणालीमा जोडिन्छ : मन्त्री शर्मा
बीरगंज । प्रदेश नम्बर २ का खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्माले प्रदेश २ का सम्पूर्ण रेडियोहरूलाई एक महिनाभित्र सौर्य ऊर्जा प्रणालीमार्फत सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ ।
वीरगंजबाट प्रकाशित राष्ट्रिय स्तरको रंगिन मासिक पत्रिका द मिरर अफ सोसाइटी र बिरगंज सञ्जाल साप्ताहिकको आज एक कार्यक्रमका बीच विमोचन गर्नुहुँदै मन्त्री शर्माले रेडियोहरूले विद्युत्मा बढी पैसा तिर्नुपर्ने भएकोले सौर्य ऊर्जा प्रणालीमार्फत सञ्चालन गर्दा सहुलियत हुने बताउनुभयो ।
उहाँले २५ प्रतिशत सम्बन्धित रेडियोले, २५ प्रतिशत प्रदेश सरकारले र ५० प्रतिशत सङ्घीय सरकारको अनुदानमा प्रदेश २ का सबै रेडियोहरूलाई एक महिनाभित्र सौर्य ऊर्जा प्रणालीमा जोडने गृह कार्य भइरहेको दाबी गर्नुभयो ।
उहाँले कोरोना सङ्क्रमणसँगै व्यापार, उद्योग, कलकारखाना धारासायी हुँदा यसको प्रभाव विज्ञापन पर्ने र मिडिया सञ्चालनमा कठिनाइ देखिएको हुँदा प्रदेश सरकारले मिडिया प्राधिकरणमार्फत सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति अगाडी बढाएको समेत बताउनुभयो ।
द मिरर अफ सोसाइटीका प्रकाशक सम्पादक आरसी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग वाणिज्य महासङ्घका अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Comments
Post a Comment