आईओएस १५ सँगै आईफोनमा आएका १९ नयाँ फिचर

काठमाडौं । एप्पलले सोमबार मात्रै आईओएस १५ को फाइनल भर्सन डाउनलोडका लागि उपलब्ध गराएको छ (आफ्नो आईफोनमा आईओएस १५ डाउनलोड गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) । एक पटक तपाईंले यो ठूलो अपडेट गराएसँगै थुप्रै नयाँ फिचर प्रयोग गर्न पाउनु हुनेछ ।

त्यसमध्ये केही फिचरले तपाईंको आईफोन प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिन सक्छन् । यहाँ हामी तपाईंलाई आईओएस १५ को अपडेटसँगै त्यसमा आएका नयाँ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौँ ।

१. ध्यानमग्न वा एकाग्र भएर आफ्नो काम गर्नुहोस्ः

नयाँ आईओएसमा आएको सबैभन्दा महत्वपूर्ण फिचर मध्येको एउटा हो, फोकस मोड । जुन तपाईंले मुख्य सेटिङ मेनुमै पाउन सक्नुहुन्छ । यो 'डु नट डिस्टर्ब' जस्तै फिचर हो ।

तर यसबाट तपाईंले घरमा भएको, काममा रहेको वा बिदामा बसेको अवस्थाका लागि नोटिफिकेसन प्राप्त हुने आफ्नै किसिमका नियम राखेर मिलाउन  सक्नुहुनेछ । यसबाट तपाईंले म्यासेज गर्ने व्यक्तिलाई समेत आफ्नो नोटिफिकेसन अफ रहेको जानकारी दिने विकल्प समेत पाउनु हुनेछ ।

२. आफूसँग शेयर गरिएको जानकारी हेर्नुहोस्ः

फोटोज, सफारी, एप्पल न्युज, एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभी सहित एप्पलको आईओएसमा रहेका अनेकौँ एपमा तपाईंले 'शेयर्ड विथ यु' नाम दिइएको नयाँ सेक्सन देख्नुहुनेछ ।

जुन तपाईंको सम्पर्कमा रहेका व्यक्तिले पठाएका म्यासेज तथा जानकारी प्राप्त गर्ने निकै सहज तरिका हो । यी एपभित्रैबाट त्यस्ता म्यासेजको प्रतिक्रिया समेत दिन सकिन्छ ।

३. नोटिफिकेसनको सारांशको प्राप्त हुने शेड्युल मिलाउनुहोस्ः

फोनमा आउने नोटिफिकेसनले पक्कै पनि तपाईंको दैनिक जीवनलाई सहज बनाइरहेका हुन्छन् । सेटिङ भित्र रहेको नोटिफिकेसन्समा तपाईंले अब 'शेड्युल्ड समरी' विकल्प पाउनु हुनेछ ।

जसको सहयोगमा तपाईंले नोटिफिकेसनलाई सीमित गर्न एप छनौट गर्ने र आफूले निर्धारण गरेको समयमा त्यसलाई प्राप्त गर्नेगरी मिलाउन सक्नुहुनेछ । ता कि यस्ता नोटिफिकेसन तपाईंलाई तुरुन्तको तुरुन्तै आउने भन्दा पनि तोकिएको समयमा मात्रै प्राप्त हुनेछन् ।

४. फेसटाइममा पोट्रेट मोडः

तपाईंले आईफोनको क्यामेराबाट फोटो खिच्दा ब्याकग्राउन्ड ब्लर हुने 'पोट्रेट मोड' अब फेसटाइमको कलमा समेत प्रयोग गर्न सकिने भएको छ । यसका लागि कलको दौरान ठूलो आकारमा हेर्न आफ्नो भिडिओ थम्बनेलमा ट्याप गर्नुहोस् र माथिल्लो बायाँ कुनामा देखिने पोट्रेट मोड आईकनमा दबाउनुहोस् । यसबाट तुरुन्तै तपाईंको ब्याकग्राउन्ड ब्लर हुन थाल्छ ।

५. आफ्नो स्वास्थ्यको जानकारी शेयर गर्नुहोस्ः

त्यसो त कुनै पनि व्यक्तिको स्वास्थ्य सम्बन्धी जानकारी उसको निजी मामिला हो । तर कहिले काहीँ आफ्नो जीवन साथी तथा पार्टनर र पाका अभिभावकसँग यस्ता जानकारी शेयर गर्नु राम्रो मानिन्छ ।

आईओएस १५ सँगै 'एप्पल हेल्थ एप'ले मुटुको स्वास्थ्य देखि समग्र गतिविधि मध्ये कुन प्रकारको जानकारी मेडिकल आईडी मार्फत शेयर गर्ने भनेर छनौटको सुविधा दिन्छ । जुन तपाईंले कुन सम्पर्क व्यक्तिसँग शेयर गर्ने भन्ने विकल्प पनि हुन्छ ।

६. आफू कत्तिको सोझो भएर हिँड्नुहुन्छ, चेक गर्नुहोस्ः

आईओएस १५ को 'हेल्थ एप' मा तपाईंले 'वाकिङ स्टेडिनेश' नामक फिचर समेत देख्न सक्नुहुन्छ । यसले तपाईं कत्तिको ठाडो अर्थात सोझो किसिमले हिँड्नुहुन्छ भन्ने कुरा मापन गर्छ ।

यसको नामबाट यसले आफ्नो अर्को वर्षको अवस्था अन्दाज गर्न सक्नुहुन्छ । यदि तपाईंको हिँडाईमा परिवर्तन हुँदैछ भने यो एपले तपाईंलाई नोटिफिकेसनमार्फत चेतावनी समेत दिने गर्दछ ।

७. 'आईक्लाउड प्राइभेट रिले' प्रयोग गर्नुहोस्ः  

यदि आईक्लाउडका लागि पैसा तिर्ने गर्नु भएको छ भने तपाईंले आईओएस १५ सँगै आईक्लाउड प्लसका केही फिचर पाउनु हुनेछ । जसमा 'आईक्लाउड प्राइभेट रिले' समेत छ ।

यो एकप्रकारले भीपीएन राउट जस्तै हो र यसले तपाईंको सतर्कता र सुरक्षाका लागि सम्पर्कलाई इन्टरनेटमा इन्क्रिप्ट गरिदिन्छ । आोफ्नो आईफोनबाट आईक्लाउड  हुँदै 'प्राइभेट रिले'मा गएर यो फिचर फेला पार्न सक्नुहुनेछ ।

८. 'नट टु लस योर डिभाइस' प्रयोग गर्नुहोस्ः

आईओएस १५ सँगै 'फाइन्ड माई' एपमा छुट्टै अलर्टको रुपमा नयाँ फिचर आएको छ । यो जस्तो सुनिन्छ, ठ्याक्कै त्यस्तै प्रकारको सुविधा हो । जब आईफोन म्याक, एप्पल वाच वा एयरट्याग जस्ता अन्य डिभाइसबाट अलग हुन्छ, त्यतिखेर यसले अलर्ट दिने गर्दछ ।

यसका लागि 'फाइन्ड माई' एपमा रहेको इन्ट्रीमा जानुहोस् र 'नोटिफाई वेन लेफ्ट बिहाइन्ड' नोटिफिकेसन अप्सन खोज्नुहोस् । जुन चाहिँ कम्प्याटिबल अर्थात यो फिचर सपोर्ट गर्ने डिभाइसमा देखा पर्नेछ ।

९. अक्षर पढ्न आफ्नो क्यामेराको सहयोग लिनुहोस्ः

आईओएस १५ मा थपिएको अर्को नयाँ फिचर हो लाइभ टेक्स्ट । जुन चाहिँ क्यामेरा र फोटोज् एपमा देख्न सकिन्छ । यो फिचरले कुनै पनि फोटोबाट अक्षर स्क्यान गर्न सक्छ । जसलाई तपाईंले सर्च गर्न वा कपी गर्न सक्नुहुन्छ ।

यसका लागि क्यामेरा प्रिभ्युमा गएर तल दायाँ तर्फ रहेको 'लाइभ टेक्स्ट' बटनमा ट्याप गर्नुहोस् । यो अप्सन क्यामेराको फ्रेममा अक्षर देखिएको अवस्थामा मात्रै खुल्ने गर्दछ ।

त्यस्तै फोटोज एपबाट आईओएसमा कुनै पनि स्थानमा भएको टेक्स्टमा ट्याप गर्न सक्नुहुन्छ । 'लाइभ टेक्स्ट' फिचर टाइप गरिएका र हस्तलिखित दुवै किसिमका अक्षरका साथै विभिन्न भाषामा काम गर्न सक्छ ।

१०. एप्पल म्यापमा थप विवरण हेर्नुहोस्ः

एप्पल म्यापमा केही निश्चित ठूला सहरमा जुम गर्नुहोस् । त्यहाँ तपाईंले गोल्डेन गेट ब्रिज जस्ता केही सुन्दर थ्रीडी ल्यान्डमार्क देख्न सक्नुहुनेछ । यो फिचरको वास्तविक सुविधा महसुस गर्न सान फ्रान्सिस्को, लस एन्जल्स, न्यु योर्क र लन्डन जस्ता सहर तपाईंका लागि राम्रो छनौट हुन सक्छन् ।

११. हिँड्दै गर्दा प्रभावशाली दिशानिर्देश प्राप्त गर्नुहोस्ः

यदि यो फिचरले सपोर्ट गर्ने सहरमा तपाईं हुनुहुन्छ भने एप्पल म्यापमा हिँड्ने बाटोको रुट लोड गर्नुहोस् । त्यसपछि तपाईंको फोनमा वरिपरिको दृश्य स्क्यान गर्ने विकल्पका साथै प्रभावशाली एआर नेभिगेसन समेत पाउनु हुनेछ ।

१२. सफारी एक्सटेन्सन इन्स्टल गर्नुहोस्ः

जब तपाईं ब्राउजर एक्सटेन्सनको विषयमा सोच्नुहुन्छ, सामान्यतया तपाईंले सम्झिने भनेकै गुगल क्रोम हुन्छ । तर सफारीले पनि यो शर्टकटलाई सपोर्ट गर्न थालेको छ । आईफोनका लागि सफारीमा एक्स्टेन्सन उपलब्ध हुन थालेका छन् ।

सेटिङमा गएर सफारी हुँदै एक्स्टेन्सन्स मा जानु भयो भने तपाईंले पहिले देखि नै के के इन्स्टल गरिएका छन् भन्ने जानकारी पाउनु हुनेछ । जुन एक्सटेन्सन चाहिँ भर्खरै उपलब्ध गराइएका हुन् ।

त्यसपछि थप एक्स्टेन्सनको लागि 'मोर एक्स्टेन्सन' मा जानुहोस् र थप केही नयाँ प्लगईन खोजेर सूचीमा थप गर्नुहोस् ।

१३. सफारीमा ग्रुप ट्याबः

आईओएस १५ सँगै सफारीमा आएको अर्को नयाँ सुविधा भनेको ग्रुप ब्राउजर ट्याब हो । जसले ब्राउजिङलाई व्यवस्थापन गर्न थप सहज बनाउँछ ।

तल दायाँ तर्फ रहेको दुई ओटा आयाताकार देखिने बटन अर्थात टुलबार बटनमा ट्याब गर्नुहोस् र स्क्रिनको तल देखा पर्ने 'ट्याब्स' लाई छनौट गर्नुहोस् । त्यसपछि तपाईंले नयाँ ट्याब ग्रुप तयार पार्न सक्नुहुन्छ । यति गरेसँगै नयाँ ग्रुप तयार नपारेसम्म तपाईंले खोल्ने हरेक वेबपेज यसमा थपिँदै जानेछन् ।

१४. सफारीलाई रिफ्रेश गर्ने नयाँ तरिकाः

सानो तर सफारीका लागि उपयोगी नयाँ फिचर हो तानेर रिफ्रेश गर्ने सुविधा । जसले तपाईंलाई स्क्रिनको माथिल्लो भागमा ट्याप गरेर तलतर्फ ठेलेर वेबसाइट रिफ्रेश गर्ने सुविधा दिन्छ । सही तरिकाले खुल्न नसक्दा वेबपेज पुनः लोड गर्नका लागि यो फिचर उपयोगी छ ।

१५. सुधार गरिएको फोटो मेमोरिज् हेर्नुहोस्ः

फोटोज एपको मेमोरिजमा पनि तपाईंले अनेकौँ सुधार देख्न सक्नुहुन्छ । स्वचालित रुपमा तयार हुने स्लाइडशोमा अब एप्पल म्युजिकबाट सुझाईएको गीत समेत आउनेछ । जुन हेर्दा समेत एकदमै ताजा देखिन्छ ।

यसअघि भन्दा थप अन्तरक्रियात्मक र टेम्प्लेट पनि यसमा पाउन सकिन्छ । साथै मेमोरिजका लागि आईओएस १५ मा थप नयाँ क्याटेगोरी समेत उपलब्ध भएका छन् ।

१६. प्राइभेसीका लागि एपमाथि थप नियन्त्रण कायम गर्नुहोस्ः

यसका लागि आईओएस १५ मा अपग्रेड भइसकेपछि सेटिङमा गएर 'प्राइभेसी' लाई चयन गर्नुहोस् र तलतर्फ स्क्रोल गर्नुहोस् । त्यसको अन्त्यमा तपाईंले 'रेकर्डेड एप एक्टिभिटी'को अप्सन फेला पार्नुहुनेछ ।

एक पटक अन गरिसकेपछि यो फिचरले कुन एपले लोकेसन, फोटो, कन्ट्याक्ट्स, क्यामेरा र माइक्रोफोनको अनुमति प्रयोग गरिरहेका छन् भन्ने विषयमा सात दिनसम्मको लग राख्ने गर्दछ । कुनै नराम्रो किसिमको व्यवहार देखाउने एप छ भने यो सूचीमा देख्न सकिनेछ ।

१७. ईमोजीमा थप विकल्पः

सामान्यतया आईओएस अपडेटसँगै थप इमोजी फिचर समेत विस्तार भएर आउने गर्दछ । यो क्रम आईओएस १५ मा पनि लागू भएको छ ।

म्याकबुक खुल्दै गरेको देखिने स्टिकर सहित एप्पलले विभिन्न नयाँ इमोजी थप गरेको छ । यसका साथै केही एक्सेसिबिलिटी फिचर समेत देख्न सकिन्छ ।

१८. आफ्नो ड्राइभिङ लाइसेन्स एप्पल वालेटमा राख्नुहोस्ः

यदि तपाईं अमेरिकामा हुनुहुन्छ र तपाईं रहेको राज्यले यसलाई साथ दिएको छ भने तपाईंले आफ्नो ड्राइभिङ लाइसेन्स एप्पल वालेटमा डिजिटल रुपमा राख्न सक्नुहुन्छ ।

यो सुविधा प्रयोग गर्ने तरिका एप्पल वालेटमा क्रेडिट कार्ड र ट्रान्जिट पास राखे जस्तै हो । यसका लागि स्क्रिनको अघिल्तिर रहेको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् र प्राप्त विकल्पहरू पच्छ्याउँदै जानुहोस् । ड्राइभिङ लाइसेन्सका साथै स्टेट आईडीलाई समेत सपोर्ट गर्दछ ।

१९. फेसटाइममा सँगसँगै मुभी हेर्नुहोस्ः

आईओएस १५ मा आएको एउटा अर्को आकर्षक फिचर भनेको शेयरप्ले हो । फेशटाइमको यो नयाँ टुलले तपाईंलाई आफ्ना प्रियजनसँग भिडिओ कल गर्दै एप्पल टिभी प्लस वा एप्पल म्युजिक जस्ता एपमा सँगसँगै टिभी तथा मुभी हेर्ने सुविधा दिन्छ ।

एप्पलका अनुसार यो नयाँ फिचर आईओएस १५ मा थप हुने क्रममा रहेको छ । यो फिचर, केही प्रयोगकर्ताले यस अघि नै बेटा भर्सनमा परीक्षण गरिसकेको फिचर हो । आशा गरौं यो फिचर आउन अब धेरै समय लाग्ने छैन ।टेकपाना

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प