६ जनाको सामूहिक अन्त्येष्टि

रौतहट । गत मंगलवार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधवार मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरूडा नगरपालिका–१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो ।
गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा मृत्यु भएको थियो ।
नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुर्ई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् ।
अनियन्त्रित गाडी सडकभन्दा केही पर रहेको ३३ केभिएको बिजुलीको पोलमा ठोक्किएर तल हिलोमा झरेको थियो ।
नमाज पढेपछि ६ जनाकै शवलाई मस्जिदबाट झण्डै २०० मिटर पश्चिमतर्पm रहेको कब्रिस्तानमा लगिएको थियो । अन्तिम संस्कारमा भाग लिन ठूलो संख्यामा जिल्लाका मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिहरू पुगेका थिए ।
६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका वारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने र दोषीलाई तत्काल कारबाई गरे मात्रै पीडित परिवारले न्याय पाउने स्थानीय शेख दाउदले बताए ।
दुर्घटनामा ३ जना घाइते छन् । घाइते शेख अलफाजको वीरगंजमा उपचार भइरहेको छ भने शेख अमानत र शेख करिमुल्लाहको गरूडामा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरूडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए । फरार रहेका चालकको खोजी भइरहेको उनको भनाइ छ ।
रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ३ गम्हरीयाका एउटै बस्तीका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि गाँउ शोकमा डुबेको छ ।
बिहेमा जन्ती हिँडेकाहरू कहिल्यै नफर्किने गरी अस्ताएपछि गाउँँ नै स्तब्ध भएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताए ।
"गाँउलेहरूलाई आकाशनै खसे जस्तो भएको छ । एउटै गाँउका ६ जनाले ज्यान गुमाउँदा सबैलाई पीडा भएको छ" मेयर यादवले भने, "घटनापछि गाडीका चालक फरार रहेकोले प्रहरीले खोजी गरेर छानबिन तथा कानूनी कारबाई गर्नुपर्छ ।"

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प