फ्रिक्वेन्सी वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै प्राधिकरण, पारित भयो रणनीति
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘राष्ट्रिय फ्रिक्वेन्सी रणनीति, २०७८’ पारित गरेको छ । प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गर्ने याेजना अनुरूप रणनीति पारित गरेको हो ।
यसअघि गएको साउनमा प्राधिकरणले रणनीतिको मस्यौदा तयार पारी सार्वजनिक रुपमा सरोकारवालासँग राय, सुझाव तथा प्रतिक्रिया माग गरेको थियो ।
सरोकारवालाबाट आएका सझावलाई समावेश गरेर प्राधिकरण बोर्डको शुक्रबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत मन्त्रीको अध्यक्षतामा रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
रणनीतिमा केही कानूनी व्यवस्था समेत हुने हुँदा यसलाई रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले समेत स्वीकृत गर्नुपर्ने हुन्छ ।
प्राधिकरणका निर्देशक तथा फ्रिक्वेन्सी महाशाखाका प्रमुख अम्बर स्थापितले भने, ‘अब आगामी दिनमा समितिले समेत यसै रणनीतिमा आधार भएर फ्रिक्वेन्सीको विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि प्राधिकरण बोर्डले यसलाई समितिमा पठाउने निर्णय गरेको हो ।’
यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले अघिल्लो वर्ष फागुनमा राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण योजना र रणनीति तयार गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
फ्रिक्वेन्सी वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित गर्न सम्बन्धित विज्ञ सहितको कार्यटोली बनाएर सुझाव सहितको प्रतिवेदन समितिमा पेश गर्न भनिएको थियो । सोही निर्देशनको आधारमा प्राधिकरणले यो रणनीति तयार पारेको हो ।
स्थापितका अनुसार यो रणनीतिमा दूरसञ्चार क्षेत्रका लागि छुट्याइएको फ्रिक्वेन्सीको व्यवस्थापन, थप फ्रिक्वेन्सीको सम्भावना, फाइभजी डिप्लोयमेन्ट, टीडीडी नेटवर्कको नियमन, स्पेक्ट्रम रोडम्याप लगायतका विषय समेटिएको छ ।
साथै रणनीतिमा कुन फ्रिक्वेन्सीमा हाल कति फ्रिक्वेन्सी उपलब्ध छ र भएका फ्रिक्वेन्सीमध्ये कुन-कुन फ्रिक्वेन्सी कुन प्रविधिका लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषय पनि समेटिएको छ ।
यसले दूरसञ्चार क्षेत्रको फ्रिक्वेन्सी वितरण तथा व्यवस्थापनको विषयमा निकै ठूलो मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
The post फ्रिक्वेन्सी वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै प्राधिकरण, पारित भयो रणनीति appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/uRS0tzm
via IFTTT
Comments
Post a Comment