निर्वाचन आयोगमा टोल फ्री नम्बर, गुनासो वा उजुरी गर्न सकिने
काठमाडाैं । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।
आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको खबर गाेरखापत्रले प्रकाशित गरेकाे छ ।
आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबार काठमाडौँस्थित आयोगको कार्यालयमा कल सेन्टरको उद्घाटन गरे । विराटनगरबाट अच्युत दाहालले मतदाता नामावलीमा आफ्नो नामबारे जानकारी लिन गरेको प्रश्नको प्रमुख आयुक्त थपलियाले जवाफ दिए ।
आयोगका उपसचिव एवं योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले सर्वसाधारणले आचारसंहिता उल्लङ्घनबारे टोलफ्री नम्बरमा जानकारी गराउन सक्ने र आयोगले जानकारी पाएलगत्तै छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
उनले मतदाता वा नागरिकलाई स्थानीय तह निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन आयोगले टोलफ्री नम्बर ११०२ सहितको कल सेन्टर सञ्चालनमा ल्याए पनि एउटै मात्र उद्देश्यमा केन्द्रित नहुने बताए ।
कल सेन्टर बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनमा रहनेछ । आयोगका उपसचिव भट्टराईले हाल चार जना जनशक्तिबाट सुरु भएको कल सेन्टरमा जिज्ञासाको चाप हेरेर नौ जनासम्म जनशक्ति परिचालन गरिने जानकारी दिए ।
जटिल प्रकृतिका प्रश्नको उत्तर कल सेन्टरमा खटिएका कर्मचारीले दिन नसकेमा सम्बन्धित शाखा प्रमुखले दिने छन् । आयोगको आठवटै शाखा प्रमुखको सम्पर्क नम्बरसँग कल सेन्टरको नम्बर जोडिएको छ । मतगणना कार्य जारी रहेसम्म कल सेन्टर सञ्चालनमा रहने आयोगले जनाएको छ ।
‘शिष्ट शैलीमा जवाफ दिनू’
प्रमुख आयुक्त थपलियाले कल सेन्टर आयोगको प्रतिष्ठासँग जोडिएकाले संवेदनशील भएर जवाफ दिन कर्मचारीलाई निर्देशन दिए । उनले आयोगले आफ्नो गतिविधिबारे नियमित जानकारी गराउँदै आए पनि सूचनामा पहुँच हुन नसकेका नागरिकले निःशुल्क सूचना पाउन कल सेन्टर महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
उनले मतदाता नामावलीमा नाम भएका सबैले मतदानको विषयमा जानकारी पाउन र मतदान गर्न आउँदा बदर नहुने गरी आफूले चाहेको उम्मेदवारलाई मत दिन सकून् भन्दै कल सेन्टरमा कार्यरत जनशक्ति वा शाखा प्रमुखले शिष्ट शैलीमा जवाफ दिन निर्देशन दिए ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचनसँग सम्बन्धित विषयमा अध्ययनशील हुन कार्यरत जनशक्तिलाई निर्देशन दिए ।
The post निर्वाचन आयोगमा टोल फ्री नम्बर, गुनासो वा उजुरी गर्न सकिने appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/25euAwh
via IFTTT
Comments
Post a Comment