जहाजसम्बन्धी व्यवहारिक ज्ञान दिन एभियसन म्युजियममा विज्ञान प्रदर्शनी
काठमाडौं । एभियसन म्युजियम (उड्ययन संग्रहालय) ले नेपाली विद्यार्थीलाई लक्षित गर्दै विज्ञान प्रदर्शनी सुरू गरेको छ । प्रदर्शनीमा विद्यार्थीलाई उड्ययन प्रविधिको व्यवहारिक पक्षबारे ज्ञान दिइने एभियसन म्युजियमका संस्थापक तथा पाइलट क्याप्टेन वेद उप्रेतीले बताए ।
आफूले पढेको विज्ञानका विभिन्न सिद्धान्तहरू व्यवहारिक रूपमा कसरी काम लाग्छन् भन्ने कुरा बुझाउन प्रदर्शनी गरिएको उनको भनाइ छ ।
यसबाट धेरैलाई गाह्रो लागेको विज्ञान र गणित विषयतर्फ विद्यार्थीको रूचि बढाउन सकिने उनको विश्वास छ । प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति नन्दकिशोर पुनले एभियसन म्युजियमको विचार रोचक र महत्वपूर्ण लागेको बताए । ‘महङ्गा बिग्रेका सामाग्रीलाई यसरी संग्रहालयमा अध्ययन र प्रदर्शनीका लागि प्रयोग गर्नाले समाजलाई फाइदा भएको छ,’ उनले भने ।
मानव इतिहासको सबैभन्दा ठूलो उपलब्धि बनेको उड्ययन प्रविधिमा नेपालीले नवीनतम शैलीले काम गर्न एभिएसन म्युजियम सञ्चालन गर्नु उदाहरणीय कार्य भएको बताउँदै उनले नेपाली विद्यार्थीलाई एभियसनको क्षेत्रमा प्रवेश गर्न सहज हुने भनाइ व्यक्त गरे ।
एभियसन म्युजियमको विज्ञान प्रदर्शनीमा कक्षा १ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीले जहाजले कसरी काम गर्छ भन्ने कुराको व्यवहारिक ज्ञान पाएका थिए । साथै एभियसन म्युजियममा भएका विभिन्न एरियल (आकाशीय) फोटोले मानिसहरूलाई एभियसन उद्योगतर्फ आकर्षित बनाउनसक्छ ।
पाइलटका रूपमा धेरै समय इन्डोनेसियामा बसेका उप्रेतीले नेपालका तीन ठाउँमा एभियसन म्युजियम सञ्चालन गरेका छन् । एभियसन म्युजियममा न्युटनको तेस्रो नियम, गुरुत्वाकर्षण बल, चुम्बकीय शक्ति, पेन्डुलम लगायत अन्य ७ विषय विषयमा प्रर्दशनी भएको थियो ।
एभियसन म्युजियम व्यवस्थापन समूहका अनुसार असार १५ सम्म विभिन्न व्यक्तिले सङ्ग्रालयभित्र निःशुल्क अवलोकन गर्न पाउनेछन् ।
The post जहाजसम्बन्धी व्यवहारिक ज्ञान दिन एभियसन म्युजियममा विज्ञान प्रदर्शनी appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/oSjpI6E
via IFTTT
Comments
Post a Comment