न्यून आय भएका युवतीहरूलाई डिजिटल सीप सम्बन्धी तालिम
काठमाडौं । कोड रशको आयोजनामा न्यून आय भएका युवतीहरूलाई सञ्चालित डिजिटल सीप सम्बन्धी तालिम सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका युवतीहरूका लागि ‘शि क्यान डिजिटल’ नाम दिइएको शून्य देखि आधारभूत तहको चार महिने तालिम बुधबार सम्पन्न भएको हो ।
कोड रश, नेपाल ग्रामीण महिला सञ्जाल र महिलाहरूको वर्ल्ड वाइड वेब (डब्लू फोर) को संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । डिजिटल परिवेशमा महिलाहरूको सीप तथा क्षमता विकास गरी उनीहरूलाई सक्षम तुल्याउँदै प्रोत्साहन गर्नु ‘शि क्यान डिजिटल’ कार्यक्रमको उद्देश्य रहेको छ ।
तालिम कार्यक्रममा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका २० जना युवतीहरूको सहभागिता रहेको थियो । सरकारी तथा सामुदायिक विद्यालयमा उच्च माध्यामिक तह उत्तीर्ण गरेका र स्नातक तह पढ्दै गरेका ती युवतीहरूमा अधिकांश कम्प्युटरमा असाक्षर रहेका थिए ।
त्यसैले उक्त तालिम कार्यक्रम कम्प्युटरको आधारभूत परिचयबाट आरम्भ गरिएको थियो । यसरी चार महिनाको अवधिमा तालिममा सहभागी युवतीहरूलाई कम्प्युटिङ उपकरणको आधारभूत परिचय, कम्प्युटर सम्बन्धी शब्दावली, इन्टरनेट सहित कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर, सामाजिक सञ्जाल, सहकार्य गर्ने टुलहरू, माइक्रोसफ्ट तथा गुगलको प्रयोग गरी डकुमेन्ट, शिट, प्रिजेन्टेसन आदिको तयारी सम्बन्धी सीप सिकाइएको आयोजकले जनाएको छ ।
यस बाहेक उनीहरूलाई ‘डिजाइनको परिकल्पना’ (डिजाइन थिङ्किङ) सम्बन्धी वर्कशपमा समेत सहभागी गराइएको थियो । तालिममा सहभागी मध्येकी एक दुर्गा कुमारी खत्री भन्छिन्, ‘म अकाउन्टेन्ट बन्न चाहन्थेँ र त्यसका लागि कम्प्युटर सम्बन्धी सीप एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसैले म डिजिटल सीप सिक्न चाहन्छु ।
एउटा सफ्टवेयर कम्पनीको रुपमा रहेको कोड रशले किशोरी तथा युवतीहरूलाई आत्मनिर्भर हुन सघाउने तालिम कार्यक्रम मार्फत आवश्यक प्राविधिक सीप सिकाउँदै आएको छ । यसैगरी नेपाल ग्रामीण महिला सञ्जालले सन् २००७ देखि नै ग्रामीण क्षेत्रका महिलाहरूको अवस्था सुधारका लागि काम गर्दै आएको छ भने डब्लू फोर विश्वभरका महिलाहरूलाई सशक्तिकरण गर्ने अनलाइन क्राउडफन्डिङ माध्यम हो ।
The post न्यून आय भएका युवतीहरूलाई डिजिटल सीप सम्बन्धी तालिम appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/qxEaS4n
via IFTTT
Comments
Post a Comment