अर्को हप्तादेखि देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी
काठमाडौं । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले यस वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे) बहिस्कार गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायक सघं, नेपाल (आईस्पान) को हालै बसेको कार्यकारी समितिको बैठकले वैशाख १९ गते मनाउन लागिएकाे आईसीटी डे बहिष्कार गर्ने निर्णय गरेको हाे ।
‘हामीले यस वर्षको आईसीटी डेसँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेका छौँ,’ आईस्पानको विज्ञप्तिमा भनिएको छ, ‘हामी यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौं ।’
विगतदेखि हालसम्मका कुनैपनि सरकारले सूचना र सञ्चार प्रविधिका लागि आवश्यक वातावरण नबनाई इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसका नाममा कार्यक्रमको नाममा देखावटी काममात्रै गररेकाले यस दिवसलाई सकारात्मक रुपमा नलिएको आईस्पानले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेट, सिफ्फी लगायत अपस्ट्रिम प्राेभाइडरकम्पनीलाई भुक्तानीको लागी विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रुपमा बन्द गरेकाले ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानकाे भनाइ छ ।
‘अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्नका लागि विदेशी मुद्रा सिफारिस रोकेको जस्तो देखिन्छ । किनभने हाम्रो सार्वभौम देश नेपालको संघीय संसदको सार्वजनिक लेखा समितिबाट दूरसञ्चार नियमावली २०५४ को नियम २६ र अनुसूची ६ (क) अनुसार सपाेर्ट चार्ज, वार्षिक मर्मत, टेक्निकल शुल्क, मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवामा ग्रामीण दूरसञ्चार विकास काेष (आरटीडीएफ) र रोयल्टी नलाग्ने देखिएकोले बेरुजु लागत हटाउन निर्देशन दिइसकेको अवस्थामा यसको उल्टो दिशातर्फ मन्त्रालय लागेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘उक्त निर्णयलाई पालना नगरी मन्त्रालयले बेरुजुकै विषयलाई लिएर अनेकन् बहनामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको छ ।’
सोही बेरुजु रकम दाखिला गर्न नेपाल दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंक कम्युनिकेसन्सको नाममा दिएको आदेशपत्रको विरुद्धमा सर्वोच्च अदालतबाट २०७७-३-१२ मा उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश पनि जारी भएको व्यहाेरा आईस्पानले उल्लेख गरेको छ ।
‘सोही किसिमको बेरुजु रहेको बाहानामा टिभी सेवा प्रदायकहरुलाई पनि विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेको अवस्थाले गर्दा टिभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको आईस्पानले जनाएकाे छ ।
साथै अत्यावश्यक सेवालाई विदेशी मुद्रा सिफारिसमा रोक लगाउन नपाइने र अत्यावश्यक सेवालाई राज्यले बन्द हुनबाट बचाउनु पर्नेमा संचार तथा सूचना प्रविधि मन्त्रालय आफै नै बन्द गर्न लागिपरेको आरोप आईस्पानले लगाएको छ ।
त्यस्तै उच्च स्तरीय समितिले “विद्युतिय पोल प्रयोग तथा सो को भुक्तानी एंव उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन” दिएपनि कुनै पनि बुँदाको कार्यानवयन नहुँदा नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तार काट्ने, हाम्रो संयन्त्रहरुलाई प्रभावित पार्ने, आफू खुसी भाडादर कायम गर्नेजस्ता कार्य भइरहेकाे भन्दै आईस्पानले असन्तुष्टि प्रकट गरेकाे छ ।
आईस्पानले इन्टरनेटमा अहिले ४५ प्रतिशतभन्दा बढी कर थाेपरिएकाे प्रसङ्ग उल्लेख गर्दै अनावश्यक कर नघटाई इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्ता गरेका कारण पनि आईसीटी डेमा सहभागी नहुने प्रस्ट पारेको छ ।
The post अर्को हप्तादेखि देशभर इन्टरनेट बन्द हुनसक्ने चेतावनी appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/dwSvETX
via IFTTT
Comments
Post a Comment