इन्टरनेटको तार होइन, अब भाडा नतिरे बिजुलीकै लाइन काटिदिने प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत पोलमा टाँगिएका अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको बिजुलीको लाइन जुनसुकै बेला काट्न सक्ने चेतावनी दिएको छ । केही सेवाप्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवाप्रदायकहरूले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।
‘त्यस्ता सेवाप्रदायक संस्थाहरूले २०७९ वैशाख मसान्तभित्र विद्युत प्राधिकरणको सम्बन्धित क्षेत्रको प्रादेशिक कार्यालयमा सम्पर्क गरी नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नु हुन् पुनः यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ ।
साथै नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न नगराउन यस अघि नै पटक पटक सूचित गरिसकिएको भन्दै प्राधिकरणले नियमानुसार सम्झौता नगर्ने सेवाप्रदायक संस्थाहरूको सम्बन्धित क्षेत्रको कार्यालयको विद्युत लाइन नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली अनुसार जुनसुकै समयमा काट्न सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवाप्रदायक संस्था नै हुने चेतावनी दिएको हो ।
यस अघि प्राधिकरणले सम्झौतामा नआउने र विद्युत पोलको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको अप्टिकल फाइबर नै काट्ने कार्य गरेको थियो । त्यसबाट देशका विभिन्न ठाउँमा अत्यावश्यक इन्टरनेट सेवा नै अवरुद्ध हुन थालेपछि ऊर्जा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच समस्या समाधानका लागि कार्यदल नै गठन गरिएको थियो । बृद्धि गरिएको भाडा समायोजन गरेर विवाद समाधान गर्नुपर्ने सुझाव उक्त कार्यदलले दिएको थियो ।
विद्युती प्राधिकरणले एकतर्फी रुपमा चर्को पोल भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरू त्यसको विरोधमा छन् । बृद्धि गरिएको पोलभाडा फिर्ता लिनुपर्ने अन्यथा आफूहरूले समेत इन्टरनेटको शुल्क बढाउन पाउनुपर्ने माग इन्टरनेट सेवप्रदायकहरूको छ । यही विवादका कारण नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकहरूबीच तनावको अवस्था उत्पन्न भएको हो ।
The post इन्टरनेटको तार होइन, अब भाडा नतिरे बिजुलीकै लाइन काटिदिने प्राधिकरणको चेतावनी appeared first on Tech News Nepal.
from Tech News Nepal https://ift.tt/7HVBJ9z
via IFTTT
Comments
Post a Comment