नेक्सन ईभी ‘डार्क एडिसन’को बुकिङ भोलिबाट खुल्ने
काठमाडौं । टाटा नेक्सन ईभीको ‘डार्क एडिसन’ (कालो संस्करण) को बुकिङ भोलिबाट खुल्ने भएको छ । आउँदो साता नेपाल भित्रिने तयारीमा रहेको यो कारको अनलाइन बुकिङ खुलाउन लागिएको हो ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका उप बजार प्रबन्धक रुपम श्रेष्ठका अनुसार २५ हजार रुपैयाँमा नेक्सन ईभीको डार्क एडिसन बुक गर्न सकिने जानकारी दिए । साथै, बुकिङ भएका कार हस्तान्तरण गर्नु अघि नै कम्पनीले सम्बन्धित ग्राहकको घर वा कार्यालयमा चार्जर जडान गरिदिने बताएको छ ।
यस क्रममा कम्पनीले २५ हजार मूल्य बराबरको एसी चार्जर जडान गरिदिनेछ । कम्पनीले पहिलो पटक ११ महिनाअघि नेपालमा नेक्सन ईभी सार्वजनिक गरेको थियो ।
त्यसैको लिमिटेड एडिसनको रूपमा नेक्सन ईभी डार्क एडिसन भित्र्याउन लागिएको हो । नेक्सन ईभीको डार्क एडिसनमा नेक्सन ईभीमा जस्तै ३०.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री राखिएको छ ।
९५ किलोवाट क्षमताको मोटर जडित यो विजुली गाडीले एक पटकको फुल चार्जमा अधिकतम ३१२ किलोमिटरको दूरी तय गर्ने दाबी गरिएको छ । गाडीको पावर, ब्याट्री, रेन्ज, मोटर लगायतका सबै फिचर नेक्सन ईभीकै समान छन् ।
तर गाडीको ‘इन्टेरियर डिजाइन’ (भित्री स्वरूप) मा भने ‘डार्क थिम’ (कालो पृष्ठभूमि) भएका लेदर सिटहरू राखिएका छन् । साथै, गाडीका सबै भित्री भाग ‘डार्क थिम’मा डिजाइन गरिएको छ ।
यो कारमा सिट बेल्ट पनि ‘साटन ब्ल्याक’ रङ्गमै दिइएको छ। नेक्सन ईभीको ‘डार्क एडिसन’मा पनि सिग्नेचर एलईडी टेलल्याम्प (पछाडिको लाइट), फ्लोटिङ रुफ, ‘पियानो ब्ल्याक’ ओआरभीएम, ‘रुफरेल’, ‘सार्क फिन एन्टेना’, ‘टायर प्रेसर मनिटरिङ सिस्टम’ ‘टीपीएमएस’, गाडीको बाहिर रङ्गकै ‘डोर ह्यान्डल’ लगायतका फिचर उपलब्ध छन् ।
यो ‘एडिसन’को कारमा १६ इन्चको प्रिमियम ‘ब्ल्याक अलोय ह्विल’ रहेको छ । कम्पनीले पहिलो चरणमा २० युनिट गाडी ल्याउने बताएको छ । तर यसको मूल्य भने निर्धारण हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
from Tech News Nepal https://ift.tt/YSwT8b3
via IFTTT
Comments
Post a Comment