इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन

काठमाडाैं । इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बनाउन अध्ययन समितिमार्फत काम हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव चूडाराज ढकालको संयोजकत्वमा समिति बनाएर काम अघि बढाएको छ ।

समितिले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाबारे अध्ययन गरेर सुझाव दिने छ । मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले इम्बोस्ड नम्बर प्लेटबारे सबैको चासो बढेपछि त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको बताए ।

लाइसेन्स वितरण प्रणालीमा भएको ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई सहज बनाउन पनि समितिले अध्ययन गरी सुझाव दिने भएको छ ।

अध्ययन समितिका सदस्य एवं यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, “हामी अध्ययनमै छौँ । विशेषगरी लाइसेन्स वितरणलाई कसरी सहज बनाउने र इम्बोस्ड नम्बर प्लेटका बारेमा उठेका प्रश्नको सम्बोधन कसरी हुनसक्छ त्यसको सुझाव पेस गर्ने हो ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाबारे छलफल अघि बढाएको छ ।

अध्ययन समितिको सुझाव आएपछि अघि बढ्न सहज हुने मन्त्रालयले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट देवनागरीमै लेख्नुपर्ने दबाब मन्त्रालयलाई परेको छ ।

यातायात व्यवस्थापन र लाइसेन्स वितरणको अधिकार प्रदेश सरकारको भएकाले पनि कार्यान्वयनमा अन्योल देखिएको विभागको दाबी छ ।

विभागका महानिर्देशक राउतले भने, “लाइसेन्सका समस्यालाई छिटो छरितो बनाउन प्रदेशको भूमिका बढी छ तर काम भएको छैन । यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि अध्ययन भइरहेको छ । सुझाव पेस हुन बाँकी छ ।”

तर समितिले कति समय काम गर्ने भन्ने कुरा तोकिएको छैन । जतिसक्दो छिटो प्रतिवेदन दिनेगरी काम भएको उनको भनाइ छ । हाल विभागसँग करिब एक लाखप्रति लाइसेन्स वितरण गर्न बाँकी छ । 

-गोरखापत्र



from Tech News Nepal https://ift.tt/hUpDVtB
via IFTTT

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प