गाउँपालिकाका सबै विद्यालयमा मोबाइल निषेध !
काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ ।
विद्यार्थीको पढाईमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरि विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले बताए । विद्यालय हाताभित्र मोबाइल फोनको प्रयोग अत्यधिक बढेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव परेकोले यस्तो निर्णय लिएको उनले बताएका छन् ।
“मोबाइलको प्रयोगलाई छुट दिँदा शिक्षक/शिक्षिकाहरूले कक्षाकोठा भित्रै मोबाइल प्रयोग गर्ने तथा फोन आएको बाहनामा पटकपटक कक्षाकोठाबाट बाहिर निस्कने समस्याको जानकारी गाउँपालिकालाई आएको थियो,” उनले भने, “साथै इन्टरनेटको उपलब्धताले विद्यार्थीहरू पनि विद्यालयमा नै युट्युब/टिकटक हेर्ने गर्न थालेपछि पढाईलाई प्रभावित हुन नदिन हामीले मोबाइल प्रतिबन्ध गरेका हौँ।”
यसअघि पनि विद्यालयहरूमा मोबाइलको प्रयोग नगर्न आग्रह गरिदै आएपनि कार्यन्वयन नभएपछि लिखित रुपमा नियम नै बनाएर अगाडि बढ्नुपरेको उनले बताए ।
उनका अनुसार शिक्षक/शिक्षिकाले कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न पाउने छैनन् भने विद्यार्थीहरूले विद्यालय हाताभित्र मोबाइल नै लान पाउने छैनन् । यदि कसैले नियम नमानेको पाइएमा आवश्यक कारबाही गरिने उनको भनाई छ । अध्यापनका लागि आवश्यक भएको खण्डमा भने शिक्षक/शिक्षिकाहरूले ल्यापटप र प्रोजेक्टर सहित मोबाइल नै प्रयोग गर्नु परे अनुमति लिएर प्रयोग गर्ने सकिने उनले बताए ।
२१,४८१ जनसंख्या भएको यो गाउँपालिकामा ४२ ओटा सामूदायिक विद्यालय र सात ओटा संस्थागत विद्यालयहरु गरी ४९ वटा विद्यालयहरु रहेका छन् । ती मध्ये आठ ओटा सामूदायिक र एउटा संस्थागत गरी नौं वटा माध्यमिक विद्यालय र बाँकी रहेका ४० वटा विद्यालयहरु आधारभूत तहका छन् ।
from Tech News Nepal https://ift.tt/75W6uzK
via IFTTT
Comments
Post a Comment