दशैं सस्तो बजारको प्रजिअ ढकालद्वारा उद्घाटन

वीरगंज, १० असोज/
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज एक समारोहका बीच दशैं सस्तो बजार २०७९ को समुद्घाटन गरेका छन् ।
प्रजिअ ढकालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सस्तो बजारबाट वीरगञ्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरू लाभान्वित हुने बताउनु भयो । साथै उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताउनुभयो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरूको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगञ्ज उद्योग वाणिज्य सङघको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । "दशैं सस्तो बजार २०७९" बजार घटस्थापनादेखि पूmलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरू राखिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले उक्त दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरू एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रूँगटा, उद्योग विभागका दिलीप साह, स्थानीय व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प