क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढयो– मन्त्री यादव

बारा, ९ भदौ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ । 

मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताउनुभयो । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उहाँले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताउनुभयो । 

"मधेसलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध छ", मन्त्री यादवले भन्नुभयो–"खेलाडी देशको गहना भएकाले उनीहरूको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।" 

नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको प्रष्ट पार्नुभयो । "काठमाडाँैबाहेक अन्य ठाँउमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छैनन्", उहाँले भन्नुभयो । वीरगञ्ज, पोखरा, भैरहवा, विराटनगर, चितवन, हेटौँडा, जनकपुरलगायत ठाउँमा सरकारले अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुपर्नेमा अध्यक्ष चन्दले जोड दिनुभयो । 

मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशसभा सदस्य सतिष सिंह, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, कलैया उपमहानगरपालिका नगरप्रमुख विनोद साह, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य प्रशान्तविक्रम सिंह, मधेस प्रदेश सचिव आयुष श्रेष्ठ, क्रिकेट सङ्घ बाराका अध्यक्ष प्रभातकुमार चौरसियालगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प