Posts

दिनदहाडै मोटरसाइकल लुटियो

जनकपुरधाम,२८ भदाै । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्ति घर अगाडीबाटै मोटरसाइकल लुटेर भागेका छन् । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा मनोज कुमार यादवको लु ६४ प. ४४०६ नम्बरको गाडी अपरिचित व्यक्ति लुटेर भागेका हुन् । लुटिएका गाडी २२० सिसि पल्सर रहेको बताइएको छ । सेतो लुगा लगाएका व्यक्ति मोटरसाइकल लिएर भाग्न खोज्दा स्थानीयले हल्ला समेत गरेका थिए । तर हल्ला गर्दागर्दै पनि लुटेर भागे । गाडी लिएर भागिरहेको दृष्य त्यहाँको एउटा सिसि क्यामेरोमा समेत कैद भएको छ । पीडितले घटनाबारे प्रहरीलाई समेत जानकारी गराएको छ । तर आईतवार साँझसम्म मोटरसाइकल फेला पर्न सकेन । पछिल्लो समय जनकपुरधामबाट मोटरसाइकल चोरीको घटना बढ्न थालेको छ । प्रहरीले भने लुटेरालाई पक्राउ गर्न सकिरहेका छैन । 

सर्पको टोकाई बालकको मृत्यु

बीरगन्ज,२८ भदाै । बारामा सर्पको टोकाई बाट एक बालकको मृत्यु भएको छ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाई गाउँ बस्ने सुमेद प्रसाद गुप्ताको अन्दाजिय ६ बर्षीय छोरालाई सर्पले टोक्दा मृत्यु भएको छ । आईतबार राति बालकलाई आफ्नै घरमा सर्पले टोके पछी उपचारका लागी सिम्रौनगढ नगर अस्पतालमा लैजादा उपचार समयमा उपचार नपाएर बालकको मृत्यु भएको आफन्तले बताएका छन । उनीहरुले अस्पतालको लापरवाहीका कारण बालककाे मृत्यु भएकाे आरोप लगाएका छन ।

पोल भाडा तिर्न आईएसपीलाई टेलिकमको समयसीमा

वीरगञ्ज । नेपाल टेलिकमले प्रदेश नं २ का विभिन्न स्थानमा कम्पनीको पोल प्रयोग गरिरहेका केबुल टिभी सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरुलाई पोल भाडा भुक्तानी गर्न आग्रह गरेको छ । प्रदेश नं. २ स्थित टेलिकमकाे प्रादेशिक कार्यालयले आइतबार एक सूचना जारी गर्दै असोज मसान्तसम्म पोल भाडा तिर्न आग्रह गरेको हाे । वीरगञ्ज, जनकपुर, मलङ्गवा, हरिवन, राजविराज, लाहान तथा यसअन्तर्गत रहेका स्थानहरूमा टेलिकमको पोल प्रयोग गरेका सम्पूर्ण केबुल टिभी सञ्चालकहरू र इन्टरनेट सेवा प्रदायकहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रूपमा गत आर्थिक वर्ष २०७७/७८ सम्मको पाेल भाडा बापतको रकम तिर्न असोज मसान्तसम्मकाे समयसीमा दिइएकाे छ । साथै सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरूको केबुलहरु टेलिकमले कात्तिक १ गतेदेखि कुनै पनि समयमा हटाउन सक्ने चेतावनी दिएको छ । यसबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायकहरू नै जिम्मेवार हुने समेत टेलिकमले जनाएको छ । 

राजविराजमा कृषि विश्वविद्यालय

Image
राजविराज।प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो "विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।" यस्तै प्रदेश सरकारले पर्साको वीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि रु २५ करोड बजेट छुटाउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिनुभयो । यसै गरी चालु आर्थिक वर्षदेखि 'एक निर्वाच...

नारायणी अस्पतालबाट भागेका अभियुक्त पक्राउ

Image
l२८ भदौ, वीरगञ्ज । नारायणी अस्पतालबाट भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–३ का १४ वर्षीय किशोरलाई भन्सार क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । क्षयरोगको उपचार चलिरहेको समयमा आइतबार अस्पतालबाट उनी भागेको उनले बताए । भदौ १६ गते प्रतिबन्धित लागूऔषध फेनारगन २१ थानसहित उनी पक्राउ परेका थिए । पर्सा जिल्ला अदालतमा उनी विरुद्ध लागूऔषध ओसारपसार मुद्दा दर्ता गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । मुखबाट रगत निस्केपछि भदौ २२ गते उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । आइतबार बिहान शौचालय जाने बहाना गरी हतकडी नै फुकालेर उनी भागेका थिए ।

दशैंका लागि नयाँ नोट वितरण ४ गतेदेखि

Image
काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । 'क' वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

Image
२८ भदौ, वीरगञ्ज । पर्सामा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो । अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ । 'चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले पाँच जना प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजे । त्यसपछि आत्मरक्षाका लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरिएको हो,' जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले भने । सोमबार बिहान चार बजे तस्कर समूहलाई नियन्त्रणमा लिन हवाई फायर गरे पनि उनीहरु भने भाग्न सफल भएका छन् । प्रहरीले बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ बरामद गरेको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक खनालका अनुसार काठ तस्करहरु भने भागेका छन् । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र दुई वटा ठूला काठका गोलिया छाडेर भागेको खनालले बताए । 'उनीहरुको खोजी भइरहेको छ,' उनले भने ।